×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

बागमती गाउँपालिकामा नेकपा एमालेको पार्टी जागरण अभियान शुभारम्भ

बागमती गाउँपालिकामा नेकपा एमालेको पार्टी जागरण अभियान शुभारम्भ

मकवानपुर । नेकपा (एमाले) बागमती गाउँपालिका कमिटीको आयोजनामा पार्टी जागरण अभियान–२०८३ अन्तर्गत अभियानको औपचारिक शुभारम्भ गरिएको छ। अभियानमार्फत जनतासँग प्रत्यक्ष रूपमा जोडिँदै उनीहरूका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ।

कार्यक्रम बागमती गाउँपालिका कमिटीका अध्यक्ष तथा कार्यक्रम सभापति क. नरबहादुर घलानको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज क. रामेश्वर राना प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

त्यसैगरी नेकपा (एमाले) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सचेतक क. एकालाल श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य तथा बागमती गाउँपालिका इन्चार्ज क. छिरिङ दोर्जे लामा पाख्रीन, प्रदेश कमिटी सदस्य क. अणराज जर्गामगर, नेकपा एमाले मकवानपुरका जिल्ला उपसचिव क. फुर्बा दोर्जे लामा, जिल्ला सचिवालय सदस्यहरू क. जयबहादुर वाइबा र क. शर्मिला विक लगायत जिल्ला कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो।

नेकपा एमालेले सञ्चालन गरेको उक्त पार्टी जागरण अभियान तीन महिनासम्म भदौ, असोज र कार्तिक सञ्चालन हुने बताइएको छ। अभियानलाई बागमती गाउँपालिकाका नौवटै वडामा विस्तार गर्दै जनतासँग प्रत्यक्ष सम्पर्क र संवाद गरिने योजना रहेको छ।

अभियानका क्रममा जनताका समस्या, आवश्यकता र सुझावलाई नजिकबाट बुझ्दै त्यसको समाधानका लागि पार्टीले सक्रिय भूमिका खेल्ने नेताहरूले बताएका छन्। जनतासँग प्रत्यक्ष जोडिएर जनताको समस्या समाधान गर्ने बाटोमा पार्टी अगाडि बढ्ने अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।

 

कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको घरदैलोसम्म पुग्ने र जनताका आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेकपा एमाले बागमती गाउँपालिकाले जागरण अभियानमार्फत संगठन विस्तारसँगै जनताका वास्तविक समस्या पहिचान गरी समाधानमुखी अभियान सञ्चालन गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्